काठमाडौं - धादिङको झ्याप्ले खोलामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुगेको छ । ३५ वटा शव निकालिएकोमा २५ पुरुष र १० महिला रहेका छन् ।

तीन वटा फरक गाडीबाट ३५ जनाको शव  निकालिएको प्रहरीले जनाएको छ ।

शनिबार साँझ झ्याप्ले खोलामा पहिरोले गाडी पुरिएको देखिएपछि खोजी कार्य सुरु गरिएको थियो । सो क्रममा शनिबार राति १४ वटा शव सुरक्षाकर्मीले निकालेका थिए । जसमध्ये ८ पुरुष र ६ महिला थिए ।

हिजो लु १ ख ४५७८ नम्बरको  बसबाट  १४ वटा शव निकालिएको थियो । सो बस  बुटवलबाट काठमाडौं आउदै गरेको थियो  ।

त्यसैगरी आइतबार थप दुई वटा बसबाट  २१ जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।

गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको बसबाट ५ जना शव निकालिएको छ । मृतक चारै जना पुरुष रहेका छन् ।

त्यसैगरी नारायणघाटबाट काठमाडौं आउँदै गरेको ना २ ख १३४५ नम्बरको माइक्रोबसबाट १६ वटा शव निकालिएको छ ।निकालिका सबै शवहरु त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको छ ।

देशभर  शुक्रबारदेखि आएको वर्षाका कारण  बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या १ सय ३२ पुगेको छ ।