काठमाडौं - गोरखाबाट गत शुक्रबार काठमाडौँका लागि हिँडेको बा ४ ख २२७० नंबरको यात्रुबाहक बस पृथ्वी राजमार्गको झ्याप्लेखोला पहिरोभित्र भेटिएको यातायात व्यवसायीहरुले बताएका छन् । 

आइतबार बिहान पहिरो खोतल्ने क्रममा सो बसको छतको भाग भेटिएको घटनास्थलमा रहेका आफ्ना साथीलाई उद्धृत गर्दै यातायात व्यवसायी अर्जुन भट्टले जानकारी दिए ।
‘एक्साभेटरले पहिरो खोतल्ने क्रममा बसको छतको डण्डीमा बसका चालक मदन परियारको नम्बर देखिएको छ भनेर साथीले खबर गर्नुभएको छ’, भट्टले भने, ‘काठमाडौँमा रहेका यातायात व्यवसायी र मजदुर साथीहरु घटनास्थलमा आइसक्नु भएको छ । हामी पनि त्यता जाने तयारी गर्दैछौँ ।’
धार्चे गाउँपालिका ७ लापुवेशीबाट गत शुक्रबार काठमाडौँका लागि छुटेको सो बस तीनदिनदेखि सम्पर्कबिहिन थियो ।

 बसमा बसका धनी तथा चालक भिमसेन थापा गाउँपालिका ४ धावाका मदन परियार र चालक दलकै फुजेलका नवराज तिवारी र धावाकै विनय भट्टराई थिए । साथै धार्चेका एकजना यात्रु सुक गुरुङ रहेका थिए ।

‘गोरखाबाट मुग्लिनसम्म चितवनका यात्रुहरु थिए । मुग्लिनबाट चालक दलका तीनजना र एकजना मात्र यात्रु लिएर काठमाडौँतर्फ गएको थियो’, गोरखा दरौँदी यातायात सेवा कम्पनीका अञ्जन खत्रीले भने, ‘बाटोमा अरु यात्रु थपिएको भए केही थाहा भएन ।’