काठमाडौं - राजधानी काठमाडौं भित्रिन र बाहिरिन अझै समय लाग्ने देखिन्छ ।

अस्ति शुक्रबारबाट नै यातायात बन्द भएको हो ।  आज तेस्रो दिन पनि काठमाडौंबाट बाहिर जाने र  भित्रिने क्रममा गाडीहरु बीच बाटोमा नै अड्किएका छन् । यात्रुहरुलाई समस्या  भएको छ । यात्रुहरु पैदल नै हिडेर आफ्नो गन्तब्य तर्फ लागेका छन् । 

झ्याप्ले खोलामा  ठूलो पहिरो जाँदा  केही गाडीहरु पुरिएका छन् । त्यहाँको पहिरो पन्छाउने काम भइरहेको छ । १५ जनाको शव निकालिएको छ । पहिरोमा पुरिएका सवारी साधनहरुको खोजी भईरहेको प्रहरिले जनाएको छ ।

गोरखाबाट काठमाडौँ आउँदै गरेको यात्रु बस सम्पर्कविहीन भएको छ ।

गोरखाको लापुबेंसीबाट काठमाडौँका लागि छुटेको बस सम्पर्कविहीन भएको हो । बसका चालक र सहचालक समेत सम्पर्कमा नरहेपछि पहिरोमा परेको हुनसक्ने आशङ्का गरिएको छ ।