काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीलाई मतदाता नामावलीमा नाम दर्ता गर्ने केही समय थप्न आग्रह गरेकी छन्।
प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार, प्रधानमन्त्री कार्कीले भण्डारीसँगको टेलिफोन कुराकानीमा मतदातामा नाम लेखाउनेहरूको संख्या बढ्दै गएको र अनलाइन आवेदनमा लोड बढेको हुँदा समय थप्न अनुरोध गरेकी हुन्। कार्यवाहक प्रमुख आयुक्त भण्डारीले पनि सकारात्मक प्रतिक्रिया दिएका छन्।
निर्वाचन आयोगले उमेर पुगेका तर नाम दर्ता नभएकाहरूलाई ३० कात्तिकसम्म नाम दर्ता गर्ने समयसीमा निर्धारण गरेको छ। आयोगका कार्यालयहरूमा भीड बढेपछि अनलाइन मार्फत आवेदन लिन सुरु गरिएको छ।
राष्ट्रिय परिचय पत्र भएका नागरिकहरूले आयोगको अनलाइन पोर्टलमार्फत बायोमेट्रिक डाटासँग लिंक गरेर सजिलै नाम दर्ता गर्न सक्नेछन्। प्रधानमन्त्रीको आग्रहअनुसार समयसीमा थपिए मतदाता पनि थपिने छन् ।




0 comment