काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपालीरूको अभिभावक बनेर काम गर्न त्यहाँस्थित नेपाली दूतावासका अधिकारीलाई आग्रह गरेका छन् ।
दक्षिण कोरियाको सिओलस्थित नेपाली दूतावासको अवलोकन गर्दै आज उनले त्यहाँ रहेका नेपालीको हक, अधिकार र समस्याको सहजीकरणमा प्रभाकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका हुन्।
सञ्चारमन्त्री खरेलले नेपाल र कोरियाबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै नेपालमा लगानी भित्र्याउने वातावरण बनाउनका लागि पनि भूमिका खेल्न राजदूतलाई आग्रह गरे । दूतावासको भूमिकाका विषयमा विभिन्न गुनासा आइरहेकाले दुई देशबीच सम्बन्ध र सहयोग विस्तारमा प्रभावकारी भूमिका खेल्न, दुई देशबीचको आपसी हित र सहकार्यबारे पहलकदमी लिन आग्रह गरेको मन्त्री खरेलको सचिवालयले जनाएको छ ।
राजदूत डा. शिवमाया तुम्बाहाम्फेले सीमित कर्मचारी, केही गैरआवासीय नेपाल सङ्घ (एनआरएनए) को विवादका कारण प्रभावकारी काम गर्न नसकिएको र विवादमा ल्याउन खोजिएको उल्लेख गरिन्। उनले नेपाल र नेपालीको हक, हितमा काम गर्न आफू प्रतिबद्ध रहेको बताइन् ।
सोही अवसरमा सञ्चारमन्त्री खरेलले दक्षिण कोरियाको सिओलमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को हवाई उडान सञ्चालनका लागि पहल गर्न पनि दूतावासको ध्यानाकर्षण गराए । उनले कोरियामा रोजगारीका लागि आएका नेपालीले मानसिक स्वास्थ्यका कारण भोगिरहेका विभिन्न खाले समस्याको समाधानका लागि पहल गर्न पनि आग्रह गरे । सञ्चारमन्त्री खरेलले दूतावासमा दरबन्दीअनुसार थप जनशक्ति पठाउन पहल गर्ने प्रतिबद्धतासमेत जनाए ।
उनले नेपाल ‘जेनजी’ प्रदर्शनपछि स्थिरता कायम भई देश लयमा फर्किएको र निर्वाचनउन्मुख भएको सन्देश दूतावास र कूटनीतिक नियोगले प्रशाह गर्नुपर्नेमा जोड दिए ।
दक्षिण कोरियाको सिओलमा आयोजना भएको ११औँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुन सञ्चारमन्त्री खरेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही कात्तिक २५ गते त्यहाँ जाएका हुन् ।




0 comment