काठमाडौं - नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनमार्फत लोडसेडिङ अवधिमा विद्युत् उपभोग गरेका उद्योगहरूबाट २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ असुल गरेको छ।

प्राधिकरणका अनुसार, २५ नयाँ उद्योगले प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका छन् भने १० उद्योगले पुरानो किस्ताबन्दीलाई निरन्तरता दिएका छन्।

३५ उद्योगको कुल बक्यौता ५ अर्ब ९४ करोड ५६ लाख रुपैयाँ मध्ये ५ अर्ब ७० करोड ६८ लाख रुपैयाँ अझै असुल हुन बाँकी छ। यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाख सम्मको अवधिको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले बक्यौता बुझाउन सुरु गरेका उद्योगीलाई धन्यवाद दिंदै त्यसलाई निरन्तरता दिने विश्वास व्यक्त गरे।

‘उद्योगलाई नियमन आयोग वा अदालतमा जाने बाटो खुला छ। किस्ता तिर्न थालेपछि त्यसको पालना हुनेछ भन्नेमा हामी विश्वस्त छौं,’ मन्त्री घिसिङले भने।

प्राधिकरणले असोजमा २१ दिनको समयसीमा दिएर बक्यौता तिर्न सार्वजनिक सूचना जारी गरेको थियो। त्यसपछि तिर्न नआएका उद्योगहरूको लाइन ४ र ७ कात्तिकमा दुई चरणमा काटिएको थियो।