काठमाडौं - नेपालको विशेष शिक्षा विकासका चुनौतीहरू र समाधानका विषयका कीर्तिपुरमा नेपालका प्रमुख विश्वविद्यालयका प्रमुख तथा विदेशी विश्वविद्यालयका प्राध्यापकहरुबीच छलफल चलेको छ ।

अन्तर्राष्ट्रिय सहकार्यका लागि लिडिङ विश्वविद्यालय परियोजना लुपिकको तत्वावधानमा नेपालका प्रमुख विश्वविद्यालयहरू (त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालय) को सहभागितामा विशेष शिक्षा संकायको भविष्य र स्थिरता विषयमा कार्यशाला भएको हो ।

कार्यशालामा लुपिकका निर्देशक जुङ डे यङले कोरिया-नेपाल विशेष शिक्षा सहयोग परियोजनाको प्रगति प्रस्तुत गरे । उनले नेपालका विश्वविद्यालयहरूलाई निरन्तर प्रयास गर्न आग्रहसमेत गरे ।

यङले नेपालको विशेष शिक्षा विकासका चुनौतीहरू र समाधानहरूलाई बुँदागत रुपमै प्रस्तुत गरेका थिए । उनले भने, ‘नेपालमा विशेष शिक्षा शिक्षकहरूको माग र आपूर्तिको संरचनात्मक समस्या अझै समाधान भएको छैन । नेपाल सरकार ले अहिलेसम्म यी प्रशिक्षित विशेष शिक्षा विशेषज्ञहरूलाई रोजगारी दिने व्यवस्था लागु गर्न सकेको छैन ।’

उनले यसैको परिणाम स्वरूप अपांगता भएका विद्यार्थीहरू उचित विशेष शिक्षा प्राप्त गर्न नसकेको बताए । साथै उनले विशेष शिक्षा स्नातकहरूलाई रोजगारी पाउन कठिन रहेको पनि धारणा राखे । विश्वविद्यालयहरूले नयाँ विद्यार्थी भर्ना गर्न कठिनाइ भोगिरहेको पनि त्यसअवसरमा सुनाइयो ।

कार्यशालामा  विशेष शिक्षा सुधारका लागि आवश्यक उपायहरू पनि औंल्याइएको छ । जसमा सकारात्मक सामाजिक धारणाको विकास, कानुनी र संस्थागत सुधारको आवश्यकता, उच्च गुणस्तरका शिक्षकहरूको विकास, सुरुवाती पहिचान र हस्तक्षेप प्रणाली विकास गर्नुपर्ने उल्लेख छ ।

यसैगरी विशेष शिक्षा पाठ्यक्रमको अनुसन्धान र विकास, हाल कार्यरत शिक्षकहरूको पुनः प्रशिक्षण र सरकारले विशेष शिक्षा र अपाङ कल्याणमा ठुलो लगानी गर्नुपर्ने जनाइएको छ ।

कार्यशालाका सहभागी विश्वविद्यालयहरूले नेपाल सरकारलाई अपांगता भएका विद्यार्थीका लागि विशेष शिक्षा सुधारका लागि तत्काल कदम चाल्न आग्रह गरेका छन् ।

छलफलमा विकसित देशहरूको उदाहरण अध्ययन गर्ने, अनुसन्धान उपलब्धिहरू साझेदारी गर्ने र नेपालमा विशेष शिक्षाको सुधारका लागि थप अनुसन्धान तथा विकास गर्ने विषयलाई जोड दिइएको थियो । कार्यशालामा दक्षिण कोरियाका पोहाङ म्युन्दो विशेष विद्यालयका प्रधानाध्यापक किम जाए-क्यु र डेगु योङह्वा विशेष विद्यालयका प्रधानाध्यापक किम सुंग-गोनले विद्यालय-आधारित पाठ्यक्रम सञ्चालन र व्यक्तिगत शैक्षिक योजना आईईपीको प्रयोगबारे अनुभव प्रस्तुत गरेका थिए । उनीहरुले दक्षिण कोरियाको कानुनी र संस्थागत ढाँचा मजबुत भएकाले विद्यालय-आधारित पाठ्यक्रमको विकास र कार्यान्वयन अनिवार्य हुने र आईईपी लागु गर्दा विशेष शिक्षा अझ प्रभावकारी बन्ने बताए ।

व्यक्तिगत शैक्षिक योजनाले अभिभावकहरूको आवश्यकतालाई समेट्दै, विद्यार्थीको वर्तमान शैक्षिक स्तर, सीप, तथा विशेषताहरूको मूल्यांकन गरी व्यक्तिगत शिक्षण योजना तयार गर्छ। सोही योजनाका आधारमा विद्यार्थीलाई अनुकूल पर्ने शिक्षण गतिविधिहरू प्रदान गरिन्छ। साथै विद्यार्थीहरूको शैक्षिक उपलब्धि तथा प्रगति नियमित रूपमा मूल्यांकन गरिन्छ र त्यसको नतिजा अभिभावकहरूसँग साझेदारी गरिन्छ। विशेष शिक्षा सेवाप्रति सन्तुष्टि बढाउन मद्दत गर्दछ ।

एकीकृत पाठ्यक्रमलाई विशेष शिक्षामा अनुकूलन गर्न समस्या

विशेष स्कुल तथा पुन:स्थापना केन्द्र एसएसडीआरसीका प्रधानाध्यापक सविता उप्रेती, केन्द्रीय बहिरा माध्यमिक विद्यालयका प्रधानाध्यापक उपेन्द्र पराजुलीले विशेष विद्यालयको विद्यालय-आधारित पाठ्यक्रमलाई विद्यार्थीहरूको आवश्यकता र विशेषताअनुरूप समायोजन वा परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिए ।

लुपिककका निर्देशक जङ दाए-योङले विद्यालय-आधारित पाठ्यक्रमको पूर्ण कार्यान्वयन र आईईपीको प्रभावकारी प्रयोग समय लाग्न सक्छ तर अपाङ्गता भएका विद्यार्थीको शिक्षाको अधिकार सुनिश्चित गर्न र अनिवार्य शिक्षालाई सफल बनाउन यसबारे निरन्तर अनुसन्धान र विकास आवश्यक रहेको बताए ।

कार्यशालाले विशेष शिक्षामा विद्यालय-आधारित पाठ्यक्रम लागू गरी आईईपी प्रयोग गर्दा अझ उपयुक्त विशेष शिक्षा प्रदान गर्न सकिने कुरामा विश्वास दिलाएको सहभागी प्रधानाध्यापकहरूले बताएका छन् ।

विकसित राष्ट्रहरूमा अपाङ्गता भएका विद्यार्थीका लागि उपयुक्त विशेष शिक्षा प्रदान गर्न राष्ट्रिय-स्तरको विशेष शिक्षा नीति निर्माण गरिन्छ। यी राष्ट्रिय मापदण्डहरूको आधारमा विशेष विद्यालयहरूले आफ्ना विद्यार्थीहरूको आवश्यकता र विशेषताअनुरूप विद्यालयमा आधारित पाठ्यक्रम विकास गरी प्रणालीबद्ध विशेष शिक्षा सेवा प्रदान गर्ने गर्छन् ।

पछिल्ला तीन वर्षमा लुपिकलेले आफ्नो नेपाली साझेदारहरूसँग मिलेर नेपालका विशेष विद्यालयहरूमा विद्यालय-आधारित पाठ्यक्रम लागु गर्ने र व्यक्तिगत शिक्षा योजना आईईपीको प्रभावकारी प्रयोगबारे संयुक्त अनुसन्धान गर्दै आएको छ । यस अवधिमा लुपिकले नेपाली विशेष शिक्षकहरूका लागि अनलाइन र प्रत्यक्ष प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुका साथै केही शिक्षकहरूलाई अध्ययन भ्रमणका लागि कोरिया आमन्त्रण गरी उनीहरूको सीप अभिवृद्धि गर्ने कार्यसमेत गरेको छ । हाल नेपालमा लुपिक परियोजनाको नेतृत्व प्रोजेक्ट म्यानेजर किम युनयोङले गरिरहेका छन् ।