काठमाडौं - सर्वोच्च अदालतले पाथीभरा मन्दिर संरक्षणसँग जोडिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ ।

सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले ताप्लेजुङको पाथीभरा मन्दिर संरक्षणसँग सम्बन्धित रिट निवेदनमा दरपीठ आदेश गरेका हुन् । आदिवासी कानुन व्यवसायी संघका तर्फबाट लक्ष्मी तामाङले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए ।यसै विषयसँग सम्बन्धित विवाद विचाराधीन रहेको जनाइएको छ ।

सर्वोच्च अदालत नियमावलीको नियम १८(२)मा उही विषयमा कसैले अघि नै रिट निवेदन दायर गरी अदालतमा विचाराधीन रहेको विषयमा रिट निवेदन दायर गर्न ल्याएको रहेछ भने सम्बन्धित अधिकारीले आधार र कारण खुलाई त्यस्तो लिखत दरपीठ गर्न सक्नेछ भन्ने व्यवस्था छ ।

किराँत याक्थुङ चुम्लुङका तर्फबाट आईन्द्र कुमार लिम्बुले  २०७७ फागुन ३ मा दर्ता गरेको रिट निवेदन सर्वोच्च अदालतमा विचाराधीन छ ।

पाथीभरा मन्दिरमा केवलकार निर्माण गर्न दिँदा मन्दिरको अस्तित्व मेटिने, वन विनाश हुने साथै अमूल्य जडिबुटीको नास हुने भन्दै  सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको थियो।