काठमाडौं - प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९औं वार्षिकोत्सव कार्यक्रम सोही प्रतिष्ठानमा मंगलबार आयोजित विशेष समारोहबीच सम्पन्न भएको छ ।
समारोहमा कुँवरले नेपाल प्रहरीको प्रशिक्षणलगायत अन्य विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याउने अवकाश प्राप्त प्रहरी नायब निरीक्षक झिल्के थापालाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरे । यसैगरी उनले प्रशिक्षण गतिविधिलाई व्यवस्थित एवं प्रभावकारी रूपमा सञ्चालन गरी दक्ष एवं व्यावसायिक जनशक्ति उत्पादन गर्नमा उल्लेखनीय योगदान पुर्याउने मधेस प्रदेश प्रहरी तालिम केन्द्र जनकपुरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईलाई प्रशंसापत्र प्रदान गरे ।
सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जद्वारा प्रकाशित ‘प्रेरणा-२०८१’ को लोकार्पण तथा प्रतिष्ठान गीत सार्वजनिकसमेत गरे । साथै उनले रस्साकस्सी खेल तथा महिला प्रहरी कर्मचारीहरूको दौड प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरे ।
समारोहमा कुँवरले विधिको शासन, नागरिकको स्वतन्त्रता, मानवअधिकार र लोकतान्त्रिक मूल्य मान्यतालाई समाजमा प्रवर्धन गरी समुन्नत र सुरक्षित समाजको निर्माण गर्न सक्ने योग्य जनशक्ति उत्पादनमा समर्पित प्रतिष्ठानको योगदान सह्रानीय रहेको बताए ।
उक्त अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरीले धन्यवाद ज्ञापन गर्दै नेपाल प्रहरीले सम्पादन गर्नुपर्ने जटिल एवं बहुआयामिक जिम्मेवारी बहन गर्नसक्ने योग्य, सक्षम, व्यावसायिक र प्रतिबद्ध अधिकृत उत्पादन गर्न मुख्य ध्येयका साथ गतिशील रहँदै आएको बताए ।
यस्तै प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक डा. मनोजकुमार केसीले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै प्रतिष्ठानको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । समारोहमा अवकाश प्राप्त प्रहरी महानिरीक्षक, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन, पीजीडीपीएस कार्यक्रमका सल्लाहकार, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रतिष्ठानका पूर्व समादेशकहरू, नेपाली सेनाका सहायक रथी, प्रहरी नायव महानिरीक्षकहरू, सशस्त्र प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू, आमन्त्रित अतिथिहरूलगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति थियो ।
0 comment