काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९८औं शाखा काठमाडौंको पानीपोखरीमा सञ्चालनमा ल्याएको छ । योसँगै काठमाडौं उपत्यकाभित्र यस बैंकको ३९ वटा शाखा र वागमती प्रदेशमा ५५ शाखा सञ्चालनमा छन् ।

पानीपोखरीमा मंगलबार आयोजित एक कार्यक्रमका बीच बैंकका सञ्चालक समितिका अध्यक्ष प्रल जंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरे । कार्यक्रममा पाण्डेले  प्रुडेन्ट बैंकिङ र सुशासनमा कुनै सम्झौता नगरी ग्राहक सेवामा विशेष ध्यान पुर्याउने दृढता व्यक्त गरे ।

सुविधासम्पन्न यो शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा मझौला व्यवसायीमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य बैंकले राखेको छ । नयाँ शाखा सञ्चालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पोरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङजस्ता सेवा पहिलो वर्ष नि:शुल्क प्राप्त गर्न सकिनेछ । डिम्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षका लागि छुटको व्यवस्था छ । साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५ प्रतिशत र पहिलो वर्ष लकर शुल्कमा ५० प्रतिशत छुट उपलब्ध छ ।

विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ दी इयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड ’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ । साथै नेपालमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि  ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९८ शाखा, १६३ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ एकाइबाट १८ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।