काठमाडौं- नेपाल टेलिकमले हाल सञ्चालन भइरहेको टु जी सेवा बन्द गर्ने घोषणा गरेको छ ।
मंगलबार टेलिकमको २१ औँ वार्षिकोत्सवका अवसरका आयोजित कार्यक्रममा कम्पनीकी प्रबन्ध निर्देशक संगीता पहाडीले टु जी सेवा बन्द गर्नेबारे जानकारी गराएकी हुन् ।
टेलिकमले प्रविधि रूपान्तरण तथा गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले फोर जीको विस्तारमा प्राथमिकता दिँदै टु जी सेवालाई विस्थापन गर्न लागेको हो । यसै आर्थिक वर्षभित्रमा टु जी सेवा बन्द गर्ने कम्पनीको योजना रहेको छ ।
हालसम्म देशका ७७ जिल्लाका ७४४ स्थानीय तहमा नेपाल टेलिकमको फोर जी सेवा पुगिसकेको प्रबन्ध निर्देशक पहाडीले जानकारी दिइन् ।
प्रबन्ध निर्देशक पहाडीले फाइभ जी सेवा सञ्चालनका लागि उपयुक्त व्यवसायिक रणनीति सहितको अध्ययन सम्पन्न भई प्रतिवेदन पेश गर्ने कार्य अन्तिम चरणमा रहेको बताइन् ।
हालसम्म नेपाल टेलिकमका इन्टरनेट तथा डेटा सेवाका प्रयोगकर्ताको संख्या २ करोड ११ लाखभन्दा बढी पुगेको कम्पनीले जानकारी दिएको छ ।
0 comment