काठमाडौं - जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव-२०८१ फागुन १६ गतेदेखि हुने भएको छ ।
ललितपुरमा मंगलबार पत्रकार सम्मेलनमार्फत आयोजक संवाद फाउन्डेसनले यसबारे जानकारी दिएको हो । महोत्सव फागुन १६ देखि १८ गतेसम्म जनकपुरको मैथिली भवनमा हुने आयोजकले जानकारी दिएको छ । महोत्सवमा ११४ भन्दा बढी देशका चलचित्रहरुले आवेदन दिएका र नेपाली पानोरामामा नेपालबाट अझै पनि चलचित्रको आवेदन आउने क्रम जारी रहेको जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा अभिनेत्री रेखा थापाले कलाकारको भूगोलको सीमाना नहुने र सबै भूगोलको कलाकार हुने बताइन् । उनले कला र महिलाको जननी मिथिला सभ्यता भएको पनि बताइन् । महोत्सवले नेपालको पर्यटन प्रवर्धन गर्ने विश्वास लिएको पनि थापाको भनाइ छ ।
महोत्सवको उद्देश्य नेपालमा चलचित्रको महत्त्व बुझाउनु रहेको बताइएको छ । साथै नेपाली चलचित्रलाई विश्वभर प्रस्तुत गर्नु, चलचित्र साक्षरताको प्रदर्शन गर्नुलगायत उद्देश्यसहित महोत्सव आयोजना गरिएको आयोजकको भनाइ छ ।
0 comment