काठमाडौं - पाथीभरामा केबलकार निर्माणलाई लिएर भइरहेको बन्द हडतालले मुलुकको पूर्वाधार विकासका लगानीमैत्री वातावरण बिथोलिने  तीनवटा निजी क्षेत्रका संस्थाहरुले बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले संयुक्त विज्ञप्ति जारी गर्दै पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रको पर्यटन विकास तथा प्रवर्द्धन गर्न  केबलकार परियोजना अघि बढिरहेको सन्दर्भमा भएको विरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै  बन्द हडतालका कार्यक्रम तत्काल रोक्नसमेत आग्रह गरेका छन् ।

केबलकार बन्न दिनु हुँदैन भनेर बाहृय हस्तक्षेपसहित केबलकार निर्माण कार्यमा अवरोध हुनुलाई दुःखद् मात्र नभई विकासको प्रवाहलाई रोक्ने प्रयासका रुपमा निजी क्षेत्रले लिएको छ,' विज्ञप्तिमा उल्लेख छ ।

समस्याको समाधान वार्ताबाट गर्न सकिने जनाउँदै विकासको यो प्रयासलाई सकारात्मक रूपमा ग्रहण गर्न र पाथीभरा (मुक्कुम्लुङ) केबलकार परियोजनालाई सहज र निर्वाध रूपमा अघि बढाउन स्थानीय समुदाय, सम्बन्धित निकाय तथा सरोकारवालाहरूलाई निजी क्षेत्रले आग्रह गरेका छन् ।

पाथीभरा (मुक्कुम्लुङ) मा बन्ने केबलकारले त्यहाँ जान चाहने वृद्धवृद्धा, अशक्त बालबालिकासहित अन्य यात्रुहरूलाई सुरक्षित, छिटो र सुविधाजनक यात्रा उपलब्ध गराउनुका साथै पूर्वाधार निर्माणले त्यहाँको धार्मिक सांस्कृतिक तथा सहासिक पर्यटन प्रवर्द्धन, कृषि, हस्तकलाको विकासमार्फत व्यवसायको प्रवर्द्धनका साथै स्थानीयका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीका अवसर सिर्जना हुने विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुले विकासमा देखिएको यो अवरोध कुनै एउटा परियोजनाको विरोध मात्रै नभएर देशको पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण बिथोलिने अवस्था सिर्जना हुनुको साथै नेपालमा लगानी गर्ने लगानीकर्ताहरुलाई यसले नकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन् ।