काठमाडौं - जुम्लाका आठवटै स्थानीय तह साक्षर घोषणा भएका छन् ।
जिल्लामा एक नगरपालिका सहित सात गाउँपालिका एकै साथ साक्षर घोषणा भएका हुन् ।
साक्षरताका १२ सूचक मध्ये अधिकांश सूचकहरू पूरा गरेपछि सबै स्थानीय तहलाई साक्षर घोषणा गरिएको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले जानकारी दिनुभयो ।
गत भदौ २१ गते हिमा गाउँपालिका पहिलो साक्षर पालिकाका रूपमा घोषणा भएको थियो ।
जिल्ला समन्वय समितिका अनुसार सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा ९८ दशमलव ९१ प्रतिशत र सबैभन्दा कम तिला गाउँपालिकामा ९५ दशमलव चार प्रतिशत नागरिक साक्षर छन् ।
कनका सुन्दरी गाउँपालिकामा ९७ प्रतिशत, सिञ्जामा ९६ दशमलव पाँच, तातोपानीमा ९५ दशमलव ७७, गुठि चौरमा ९५ दशमलव ७३, हिमामा ९५ दशमलव ७२ र पातारासीमा ९५ दशमलव २४ प्रतिशत नागरिक साक्षर रहेका स्थानीय तहको शिक्षा शाखाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
साक्षरताका १२ सूचक मध्ये छ सूचक पूरा गर्ने पालिकालाई साक्षर पालिका घोषणा गर्ने प्रावधान रहेको जिल्ला समन्वय समितिका प्रमुख आचार्यले बताउनुभयो । जिल्लाका ६० वटा वडाका बस्तीमा साक्षर सङ्ख्याको खोजी गरिएको थियो ।
साक्षरता पालिका घोषणा गर्न राष्ट्रभाषा वा मातृभाषाका वर्ण अक्षरको पढाइ तथा लेखाइ गर्न सक्ने, मूल्यसूची र बिल पढ्न सक्ने, परिवारको सदस्यको नाम, उमेर लेख्न र पढ्न सक्ने, मोबाइल र क्यालकुलेटरका अङ्क र अक्षर चिनेर प्रयोग गर्न सक्ने, शून्यदेखि नौसम्मका अक्षर र अङ्क लेख्न र चिन्न सक्ने लगायत सूचकहरू पूरा भएपछि पालिकालाई साक्षर घोषणा गरिएको तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिनुभयो ।
0 comment