काठमाडौं । 
गण्डकी प्रदेशका मुख्यमन्त्री तथा सबै मन्त्रीहरुले आफ्नो सम्पत्ती विवरण सार्वजनिक गरेका छन । सार्वजनिक भएको सम्पत्ती विवरण हेर्दा सामाजिक विकास तथा खेलकुदमन्त्री विन्दुकुमार थापा मन्त्रीहरुमध्ये सबैभन्दा धनी मन्त्री भएको पाइएको छ । 
सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार मन्त्री थापासँग श्रीमती, छोरा र कम्पनीको नाममा प्रशस्त घरजग्गा र शेयर रहेको पाइएको छ । व्यापारिक पृष्ठभूमिबाट आएका मन्त्री थापाको श्रीमती मनलक्ष्मी थापाको नाममा मात्र अरबौ पर्ने घरजग्गा १९ ठाउँमा रहेको देखिएको छ । 
थापाका दुई वटी श्रीमती छन । अर्की श्रीमती राधा थापा क्षेत्रीको नाममा १३ ठाउँमा घरजग्गा रहेको छ । छोरा सौगातका नाममा १० ठाउँमा शेयर र विभिन्न सम्पत्ति छ भने थापाको विभिन्न कम्पनि, होटल, रिसोर्ट, अटोमा लगानी रहेको देखिन्छ । थापाले पोखरा महानगरपालिकाका ८, ९, १७, २८, २९, ६ नम्बर वडामा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरेको पाइएको छ । 

विन्दुकुमार थापाको नाममा नयाँ बजारमा भव्य ३ वटा घर रहेको देखिएको छ । पोखरामा ३ वटा होटल तथा रिसोर्ट र २ वटा ब्यापारिक भवन छन् । उनले पोखरामा पोखरा बुटिक होटल प्रा . लि, बगैंचा रिसोर्ट र रोयल हिमालयन रिसोर्ट प्रा.लि सञ्चालनमा छन । 
सिटी ट्रेड मल, गण्डकी ट्रेड हाउस, अंशुभरा स्क्वायर प्रा.लि लगायतका व्यापारिक भवन पनि रहेका छन् । पोखराकै ठूलो मल मध्यमा पर्ने पोखरा ट्रेड मलको मुख्य लगानीकर्ता पनि मन्त्री थापा नै रहेको पाइएको छ ।

पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका मन्त्री थापाले विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गरेका छन् । मेगा बैंकसँग मर्ज हुनु पहिले थापा पोखराको विश्व विकास बैंकका अध्यक्षसमेत थिए । 

मन्त्री थापासँग अघिल्लो कार्यकालमा भन्दा सुनको मात्रा पनि यो कार्यकालमा बढेको छ । अघिल्लो कार्यकालमा कानुनमन्त्री हुँदा उनीसँग ९० तोला सुन रहेको थियो । अहिले १६० तोला पुगेको छ । ७५० तोला चाँदी र २० तोला हिरा रहेको उनको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।
मन्त्री थापासँग २ करोड, १ करोड १२ लाख र १ करोड १६ लाख रुपैयाँका ३ वटा विभिन्न कम्पनीका गाडी रहेका छन । मन्त्री थापाको लुम्बिनी विकास बैंकमा ५६ लाख र एन.एमबी बैंकमा ६ करोड ६३ लाखको शेयर रहेको देखिएको छ ।
मन्त्री थापाले मेगा बैंकको ४ लाख, ६८ हजार ५६ कित्ता, सेन्चुरी कमर्सियल बैंकको ९१ हजार ३ सय ६७ र सिद्धार्थ बैंकको ४३ हजार ७ सय ७८ कित्ता सेयर अघिल्लो सम्पत्ति विवरणमा खुलाएका थिए । यसपटकको सम्पत्ति विवरणमा भने त्यो शेयरबारे उल्लेख गरेका छैनन ।
थापाले एनएमबी बैंकमा १२ करोड ३१ लाख, ग्रिन डेभलपमेन्ट बैंकमा १२ करोड ५० लाख, पोखरा फाइनान्समा ८५ करोड, मनोहरजंग राणाबाट ९४ लाख ९५ हजार, अनिता थापाबाट ५५ लाख र ३० लाख रुपैयाँ ऋण लिएको सम्पत्ति विवरणमा खुलाएको देखिएको छ । राजनैतिक लाभ लिएर पदमा पुगेपछि अथाह सम्पत्ती जोरजाम गर्ने नेताहरुको प्रवृत्ति पुरानै हो । स्थानीय तहदेखि नै केन्द्रसम्म पदमा पुगेपछि सम्पत्ती जोहो गर्ने अभ्यासबाट कुनै पनि राजनैतिक दलका नेता टाढा नभएको कुरा कुनै नौलो विषय होइन ।