काठमाडौं - साफ महिला च्याम्पियनसिप अन्तर्गत आज हुने नेपाल र बंगलादेशबीचको  फाइनल खेलको टिकट विक्री सुरु भएको एक घण्टा नबित्दै सकिएको छ ।

नेपाल फुटबल संघ एन्फाले आज विहान ८ बजेदेखि २ स्थानबाट टिकट विक्री गर्ने सूचना निकालेसँगै विहान ४ बजेदेखि नै जावलाखेलस्थित फुटबल मैदान र भद्रकालीस्थित आर्मी गेटको काउन्टरमा दर्शकहरु पुगेका थिए ।  विहान ८ बजेबाट विक्रि गर्ने  भनेपनि व्यवस्थापकीय कमजोरीका कारण ९ बजेपछि मात्र टिकट विक्री सुरु भएको थियो ।

झन्डै डेढ घण्टामै विक्री गर्न ल्याइएको टिकट सकिएको हो ।

लाममा लागेका दर्शकले टिकट नपाएपछि केहीबेर टिकट किन्न आउनेहरु आक्रोशित भएका थिए ।

एन्फाले भने अनुसार प्रति व्यक्ति अधिकतम २ भीआइपि र ५ साधारण टिकट विक्री गरिएको थियो ।

काठमाडौं - नेपाल र बंगलादेशबीच दशरथ रंगशालामा आज साँझ ६:३० बजे फाइनल खेलको टिकट सबै विक्रि भएपछि पनि हजारौंको संख्यामा दर्शक टिकट खरिद गर्न आएका थिए ।

यसलाई मध्यनजर गर्दै काठमाडौं महानगरले राजधानीको ३ स्थानमा खेल देखाउने भएको छ । राजधानीको टुडिखेल,सानो गौचरनको खेल मैदान र चाबहिल गणेशस्थानमा खेल देखाइने महानगर स्रोतले जानकारी दियो ।

नेपाल र बंगलादेशबीच दशरथ रंगशालामा बुधवार साँझ ६:३० बजे फाइनल सुरु हुँदैछ । एन्फाले हिजो पत्रकार सम्मेलनमार्फत साविक टिकट विक्री गर्दै आएको माउन्ट एभरेष्ट स्पोर्ट्स एण्ड इभेन्ट्सबाट अधिकार खोसेर २ ठाँउमा आफैं टिकट बेच्ने बताएको थियो ।

एन्फाले साधारणतर्फ ११ हजार र भिआइपी १ हजार मात्र टिकट विक्री गरिने बताएको थियो । साधारणतर्फ ५ सय र भिआइपी १ हजार रुपैयाँ टिकट दर छ ।